अध्यक्ष ओलीले तिरे एमालेको लेबी

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन् । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।
एमालेका नेता–कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनु पर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ । सोही अनुसार प्रधानमन्त्री भएबापत ओलीले मासिक २५ हजारका दरले एक वर्षको लेबी बुझाएका हुन् ।
‘प्रधानमन्त्री भए बापत उहाँले मासिक २५ हजारका दरले लेबी बुझाउनु भयो,’ केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले भने । उनले पार्टीको सदस्यता शुल्क पनि बुझाएका छन् । एमालेले मासिक ३ सय रुपैयाँ पार्टी सदस्यता शुल्क उठाउँदै आएको छ । सोही अनुसार, अध्यक्ष ओलीले पनि बुधबार पार्टी सदस्यता र लेबी तिरेको उनको सचिवालयले जनाएको छ । जस अनुसार उनले एक वर्षको ३ लाख ३ हजार ६ सय रकम बुझाएका हुन् ।