सरकारले भन्यो–रास्वपा र राप्रपामा परिपक्वता देखिएन, हठ त्याग्नु पर्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले संसद् अवरोध गरिरहेका प्रतिपक्ष दलहरूलाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गरेका छन् । आज (बुधबार) सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।
संसदको प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मेरो गोरूको बाह्रै टक्का भनेझैं हठ गरिरहेको उनले जिकिर गरे । मन्त्री गुरुङले कर्मचारीमाथि अख्तियारले छानबिन सुरु गर्दा पूर्वाग्रह राखेर गृहमन्त्रीको राजीनामा मागिएको आरोप लगाए । रास्वपा र राप्रपाको कदम सोह्रै आना गलत रहेको उनको भनाइ थियो । समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई अड्काउन नहुने पनि उनले बताएका छन् ।
छानबिन समिति स्वीकार गरेर छानबिन समितिले निर्वाध रूपमा काम गरोस्, आगामी दिनमा त्यस्ता काम नहोस् भन्नेतर्फ प्रतिपक्षी दलहरूले सचेत गराउन खबरदारी गर्नुपर्ने उनले बताए । उनले भने, ‘कुनै व्यक्तिमाथि पूर्वाग्रह राखेर यति नभए हुँदै हुँदैन भन्ने ढङ्गले संसदमा प्रस्तुत हुन मिल्दैन । उहाँहरूमा परिपक्वता पनि देखिँदैन । कि रास्वपाले भन्न सक्नु पर्यो संसदीय व्यवस्था र यो व्यवस्थाप्रति विश्वास छैन भनेर । होइन भने समस्या समाधान गर्ने थलोमा अवरोध गरेर हुँदैन ।’
सरकारले सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । जसमा रास्वपा र राप्रपाले असहमति जनाएका छन् । मन्त्री गुरूङले विरोधको अब धेरै औचित्य नरहेको बताए । संसदीय काम कारबाहीमा सामेल भएर संसद् अघि बढाउन सहयोग गर्न उनले आग्रह गरे ।