सरकारकै कारण विधेयक पारित हुन ढिलाइ : हितराज पाण्डे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताएका छन् । आज (बुधबार) को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मन्त्रीले समितिमा आएर विधेयक छिटो गर्नुपर्छ भन्ने गरेको तर सरकारकै कारण विधेयक पारित हुनबाट ढिलाइ भइरहेको आरोप लगाए । उनले सरकारले विधेयकबारे गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
उनले भने, ‘विधेयक छिटो गर्नुपर्ने कुरा माननीय गृहमन्त्री ज्यूले समितिमा आएर सधैं भन्नु हुन्छ। तर सरकारकै कारणले गर्दा विधेयक छिटो छिटो गएको छैन । यो विषयवस्तुलाई सरकारले गम्भीरताका साथ लिओस् । हाम्रो सभापति ज्यूले पनि चाहे त्यो अख्तियारको होस् वा निजामतीको कुरा होस्, यसलाई सभापतिको तर्फबाट र समितिको नेतृत्वको तर्फबाट पनि पहलकदमी पुगेको छैन ।’ प्रमुख सचेतक पाण्डेले समिति सभापतिले पनि विशेष चासो दिएर पहल कदमी लिन नसकेको आरोप लगाए ।