पतञ्जली प्रकरण : यी तीन न्यायाधीशको इजलासमा हुनेछ माधव नेपालको बयान

काठमाडौं । विशेष अदालतमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको बयान सुरू भएको छ । पूर्व प्रधानमन्त्री नेपालको मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको छ । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान जारी छ । बयान सकिएपछि आजै थुनछेक बहस सुरू हुने अदालत स्रोतले जनाएको छ ।
पतञ्जली जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा नेपाल केहीबेरअघि विशेष अदालतमा उपस्थित भएका छन् । नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए । बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल केही समयअघि विशेष अदालत पुगेका थिए । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ ।