इजरायली रक्षामन्त्रीले दिए तेहरानमै शक्तिशाली आक्रमणको आदेश

काठमाडौं । इजरायलले इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । इजरायली रक्षामन्त्री इस्राएल काट्जले एक वक्तव्य जारी गर्दै इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएका हुन् । उनले इजरायली सेनालाई तेहरानको मुख्य क्षेत्रमा ठूलो आक्रमण गर्न निर्देशन दिएका छन् ।
‘मैले इजरायली रक्षा बललाई इरानको युद्धविराम उल्लंघनको जवाफमा कडा कारबाही गर्न आदेश दिएको छु,’ मन्त्री काट्जको वक्तव्यमा उल्लेख छ । उनले इरानको आक्रामणलाई सहेर नबस्ने बताउँदै राज्यका महत्वपूर्ण केन्द्रहरूमा प्रतिआक्रमण हुने चेतावनी दिए । टाइम्स अफ इजरायलका अनुसार, इरानले प्रहार गरेको दुई वटा ब्यालिस्टिक मिसाइललाई इजरायलले रोकेको छ ।
उता, इरानका स्थानीय अधिकारीहरूले मंगलबार बिहान उत्तर इरानमा भएको आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ र चारवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् । गिलान प्रान्तको गभर्नर कार्यालयले दिएको जानकारी अनुसार, अस्तानेह–ये अशरफियेह शहरमा भएको उक्त आक्रमणमा ३३ जना घाइते भएका छन् । कार्यालयले यसलाई ‘आतङ्ककारी हमला’ को संज्ञा दिएको छ ।
इरानी सञ्चारमाध्यमहरूले उक्त आक्रमणका पछाडि इजरायलको संलग्नता रहेको उल्लेख गरेका छन् । गिलानका उप–गभर्नरका अनुसार, ज्यान गुमाउने र घाइते हुनेमध्ये १६ जना महिला र बालबालिका छन् । केही सञ्चारमाध्यमका अनुसार, ज्यान गुमाउनेमध्ये एक जना परमाणु वैज्ञानिक मोहम्मद रजा सिद्दीकी पनि छन ्। इजरायली सेनाले पनि रातको कारबाहीमा एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरिएको उल्लेख गरेको छ ।