इरानबाट उद्धार गरिएका दुई नेपाली आईपुगे दिल्ली

काठमाडौं । युद्धग्रस्त इरानबाट दुई नेपालीको उद्धार भएको छ । भारतको सहयोगमा इरानको मसदबाट उद्धार गरिएका दुई नेपाल आज भारतको राजधानी नयाँदिल्ली पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
उद्धार हुनेमा गणेश पोखरेल र सुमन गैरे छन् । उनीहरुलाई नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू आजै बुटवलका लागि प्रस्थान गरेको दूतावासले जनाएको छ । इरानमा कुल १६ नेपाली रहेकोमा भारतकै सहयोगमा ११ जनाको उद्धारको प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बाँकी पाँच जना भने इरानकै जेलमा रहेका छन् । इजरायल–इरानबीच युद्ध चर्किएसँगै इजरायलमा रहेका नेपालीहरुको उद्धारका प्रक्रिया पनि सरकारले सुरु गरेको छ । नेपाल फर्किन चाहने नेपालीको विवरण लिन सरकारले सुरु गरेकोमा सोमबारसम्म ८८५ जनाले नाम दर्ता गराएको परराष्ट्रमन्त्री आरजु राणाले संसद वैठकमा जानकारी गराएकी थिइन् ।