सरकार बिचौलियाको भयो, समर्थन कायम राख्न सकिन्न : उपेन्द्र यादव


२०८२ असार १० मंगलबार ०३:१२ बजे
फाइल फोटो

भक्तपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार ‘बिचौलिया’ को स्वार्थमा चलेको आरोप लगाउँदै समर्थन कायम राखिरहन नसकिने बताएका छन् । सरकारले सुशासन, समृद्धि र संविधान कार्यान्वयनको वाचामा जनतालाई धोका दिएको भन्दै उनले अब समर्थन फिर्ता लिने बाहेक अर्को विकल्प नरहेको संकेत गरे । रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, ‘यो सरकार जनमुखी होइन, केवल म्युजिकल चियरको खेल बनेको छ ।

सरकार सुधारको एजेण्डामा होइन, विनाशको स्क्रिप्ट अनुसार चलिरहेको छ । यस्तो सरकारलाई समर्थन दिइरहनु संविधान र जनतामाथिको गद्दारी हो ।’ उनले सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने र पद बाँडफाँटमा मात्र केन्द्रित भएको तर जनताका मुद्दामा पूर्ण उदासीन रहेको उनले आरोप लगाए । ‘सुशासन कुन चराको नाम हो भन्ने सरकारलाई थाहा छैन,’ यादवले प्रहार गरे, ‘बजेट गरिब, श्रमिक, किसानमुखी भएन, विचौलियामुखी बनेको छ ।’

अध्यक्ष यादवले सरकार संघीयतालाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप समेत लगाए । प्रदेश सरकारलाई कर्मचारी र स्रोतसाधन नदिएर अधिकारविहीन बनाइएको भन्दै उनले भने, ‘संविधान कार्यान्वयनमा सरकार पूर्ण उदासीन छ । संविधान पालना नगर्नेहरूले नै आज देश बिगारेका छन् ।’ देशको आर्थिक अवस्था जर्जर बन्दै गएको र राष्ट्रिय ऋण अढाई खर्ब नाघेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले सरकार रेमिट्यान्सको भरमा चलेको भ्रममा रहेको टिप्पणी गरे ।

‘देशको आर्थिक जरा सडिसकेको छ, उत्पादन ठप्प छ, तर सरकारलाई कुनै मतलब छैन,’ उनले भने । अध्यक्ष यादवले देश अब ‘पुरानो र थकित अनुहार’ को सत्ता मोहबाट मुक्त हुनुपर्नेमा जोड दिए । उनले भने, ‘उस्तै अनुहारको म्युजिकल चेयरले देश थला परेको छ । अब युवाले नेतृत्व लिने र देश कुन बाटोमा जाने भन्नेबारे गम्भीर बहसको समय आएको छ ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७