‘म अपराधी होइन भनेर बयान दिने ठाउँ संसद होइन, अदालतको कठघरा हो’

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा संसदको रोष्ट्रमबाट होइन, अदालतको कठघरामा जवाफ दिन चुनौती दिएका छन्।
गृहमन्त्री लेखकले हिजो संसदमा आफू भिजिट भिसा प्रकरणमा संलग्न नभएको बयान दिएपछि नेपालले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन्। नेपालले लेखेका छन्, ‘म अपराधी होइन भनेर बयान दिने ठाउँ संसदको रोष्ट्रम होइन, अदालतको कठघरा हो। अदालतमा स्वागत नेपालहरूले प्रश्न गर्छन् जनताको तर्फबाट, हिम्मत छ जवाफ दिने ? छ भने आउनु, नआए कुनै दिन ल्याउने छन् चौखुर्याएर। रवि लामिछानेलाई के भन्थ्यौं ? बिर्सियौं ?’
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीहरूको मिलेमतोमा नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा विदेश पठाउने कार्य भएको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा विमानस्थलका अध्यागमन प्रमुखसहित पाँच जनामाथि अनुसन्धान गरिरहेको छ ।