पत्रकार दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न ३५ सम्पादकको माग

काठमाडौं । सम्पादकहरूको समूहले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ। ३५ जना सम्पादकहरूले आज (शनिबार) एक साझा विज्ञप्ति जारी गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गरेका हुन्।
सम्पादकहरूले फरक उद्देश्यका लागि बनेको कानुनको दफा दुरुपयोग गरी पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाएका छन्। सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक रहेको उनीहरूले बताएका छन्।
‘कसैले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रता अभ्यास गर्दा अप्रमाणित, अस्पष्ट सामग्री प्रस्तुत गरेमा त्यसविरुद्ध प्रेस काउन्सिल र न्यायालयमा मुद्दा दिन सकिने स्पष्ट कानुनी व्यवस्था र अभ्यास छ। तर फरक उद्देश्यका लागि बनेको कानुनका दफा दुरुपयोग गरी सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक हो’, विज्ञप्तिमा भनिएको छ।
सम्पादकको समूहले यसअघि पनि कानुनको दुरुपयोग हुँदै आएको र एउटै विषयमा आम नागरिक न्यायालयमा उपचार खोज्न जानुपर्ने तर शक्तिशालीहरूका लागि भने प्रहरीले धरपकड गरिदिने विभेदपूर्ण अवस्था निर्माण हुन पुगेको जनाएको छ। साथै, सम्पादकहरूले अभिव्यक्ति स्वतन्त्रता जस्तो मौलिक हकलाई खुम्च्याउने गरी विद्युतीय कारोबार ऐनमा राखिएका गलत प्रावधान संशोधन गर्ने प्रक्रियामा लैजान पनि सरकार र संसद्को ध्यान आकर्षित गरेका छन्।
त्यस्तै बिजमाण्डू डटकम, नेपालखबर डटकम लगायत अनलाइन समाचार पोर्टलमा प्रकाशित समाचारको विषयलाई लिएर काठमाडौं जिल्ला अदालतका पछिल्ला आदेशहरूप्रति पनि सम्पादकहरूले गम्भीर असहमति प्रकट गरेका छन्।
‘अनलाइनमा प्रकाशित सामग्रीमाथि सम्बन्धित सञ्चार संस्थालाई आफ्ना भनाइ र प्रमाण प्रस्तुत गर्ने मौका समेत नदिई त्यस्ता सामग्री हटाउन जिल्ला अदालत काठमाडौंले दिएको आदेशले स्वच्छ सुनुवाइको अधिकारमाथि समेत प्रश्न उठाएको छ। बिनासुनुवाइ समाचार सामग्री हटाउन मात्र होइन, ‘समाचार प्रकाशन नगर्न, नगराउन’ भनी आएको आदेशले प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने संवैधानिक हक समेत उल्लंघन हुन पुगेको छ। हामी यसतर्फ न्यायिक नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँछौं’, विज्ञप्तिमा भनिएको छ।