प्रधानमन्त्री र मन्त्रीहरु आफ्नै निर्वाचन क्षेत्रको मात्र भए : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएको टिप्पणी गरेका छन्।
आज (शनिबार) संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री र मन्त्रीहरू पूरा देशको नभई आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाए।
यसले कतिपय सांसदहरूले अर्को पटक मत नै नपाउने स्थिति बनेको बताए। उनले राजनीतिक स्थिरता नभईकन विकास सम्भव नहुने बताए। पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्न अहिलेको निर्वाचन प्रणाली बदल्नु पर्ने बताए।
अध्यक्ष यादवले भने, ‘अरू देशमा प्रधानमन्त्री देशको हुन्छ। हाम्रोमा प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुन्छ । सबै स्रोत, साधन त्यहीँ पुर्याउँछ। कतिपय सांसद त घर न घाटका हुन्छन्। के विकास गरिस् भन्दै अर्को पटक जनताले भोट पनि हाल्दैनन् । पूरै देशको प्रधानमन्त्री बनाउन र विकास गर्न अहिलेको निर्वाचन प्रणाली बदल्नै पर्छ।’ अध्यक्ष यादवले पूरै देशको प्रधानमन्त्री र पूरै देशको संसद् हुने स्थिति नबनाएसम्म स्थिरता नहुने जिकिर गरे।