बेलिब्रिज भाँचिदा छ कामदार घाइते, चारको अवस्था गम्भीर

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आज साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छजना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा बारा सिमरा उपमहानगरपालिका १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन् भने ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले जानकारी दिए । लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।