नाराबाजी र शक्ति प्रदर्शनसहित युवा संघ अध्यक्षमा थेबे र पुरीको उम्मेदवारी दर्ता


२०८२ जेठ ११ आइतबार ०२:१९ बजे

पोखरा । सत्तारुढ नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघको १०औं महाधिवेशन पोखरामा जारी छ।महाधिवेशनबाट चुनिने नेतृत्वका विषयमा संघसँगै सिंगो पार्टीपंक्ति सक्रिय देखिएको छ । शीर्ष नेता उम्मेदवारका पक्ष /विपक्षमा छन् ।

आज (आइतबार) निर्वाचन प्रक्रिया सुरु भएर उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी अध्यक्षमा भिड्ने भएका छन् । निर्वाचन समितिले मनोनयनपत्र दर्ताको समय तोकेपछि थेबे समर्थकका साथ नाराबाजी र शक्ति प्रदर्शनसहित उम्मेदवारी दिन पुगे ।

पुरीले पनि अन्तिम समयमा थेबेकै शैलीमा गएर अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। युवा संघका अरू पदाधिकारी, केन्द्रीय समिति, निर्वाचन आयोग, लेखा आयोग, युवाविज्ञ आयोग र अनुशासन आयोगमा पुग्न पनि मनोनयनपत्र दर्ता गरिएको छ। अध्यक्षमा हालसम्म थेबे र पुरी दुई जनाले मात्र उमेदवारी दर्ता गराएका छन्।

युवा संघका इन्चार्ज राजीव पहारीदेखि पूर्वअध्यक्ष महेश बस्नेत, जनवर्गीय संगठनका इन्चार्ज भानुभक्त ढकाललगायत नेताहरू थेबेलाई नै सर्वसम्मत अध्यक्ष बनाउने प्रयासमा लागेका थिए । तर, पुरीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने अडान लिए ।

आइतबारसम्ममा युवा संघको नयाँ नेतृत्व चयन भइसक्नुपर्ने थियो । तर, सहमति सम्भव भएन। इन्चार्ज पहारीले सहमतिको प्रयास गर्दा केही बढी समय लागेको बताए । हालका उपाध्यक्ष महाराज गुरुङ, प्रकाश गौतम, कृष्णहरि केसी अध्यक्षको दौडबाट बाहिरिएका छन् । उनीहरू बाहिरिएसँगै थेबे र पुरी भिड्ने भएका छन्। थेबे महासचिव हुँदै संघको नवौँ महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए । पुरी उपाध्यक्ष, महासचिव हुँदै हाल अध्यक्षमा दाबी गरिरहेका छन्।

थेबेका पक्षमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेता देखिएका छन्। पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, विनोद ढकाललगायत नेताको समर्थन छ।

निर्वाचन समितिले सूचना टाँस गर्दै सोमबार (जेठ १२) बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाएको छ। विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतदाननिम्ति शनिबार राति ४५ विद्युतीय मेसिन ल्याइएको छ। महाधिवेशनमा एक हजार ७५० प्रतिनिधि छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७