युनुस रिहा लगतै पक्राउ, फेरि जेल जाने सम्भावना


२०८२ जेठ ११ आइतबार २१:५८ बजे

काठमाडौं । नख्खु कारागारबाट मुक्त भएलगत्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थपिएको छ । नक्कली भारतीय नोट कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ छुटेका थिए । लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

नक्कली भारतीय मुद्रा कारोबारमा उनको संलग्नतासँगै स्रोत नखुलेका करोडौं रकमको कारोबार देखिएका कारण नेपाल राष्ट्र बैंकको वित्तीय अनुसन्धान इकाइले प्रहरीलाई पत्राचार गरेको थियो । आज उनलाई अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको  सीआईबीका एसएसपी होमिन्द्र बोगटीले जानकारी दिएका छन् । २०७६ जेठ १० मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो । कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।

यीनै तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुससँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पक्राउ परेका थिए । यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । ६ वर्ष कैद भुक्तान गरेर हिजो शनिबार मात्रै छुटेका थिए । लगत्तै सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो । राष्ट्र बैंकले उल्लेख गरेका कारोबारलाई अन्सारीले स्रोतसहित पुष्टि गर्न सकेनन् भने उनी फेरि जेल जाने सम्भावना रहेको अनुसन्धानमा संलग्न प्रहरीहरु बताउँछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७