अनौपचारिक अर्थतन्त्र सबै कालो धन हुँदैन : महासचिव पोखरेल
‘ढुङ्गा, गिट्टी र बालुवा समेतलाई आम्दानीको दिगो श्रोत बनाउने आँट गर्नुपर्छ’

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यको सामथ्र्य वृद्धि नगरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताएका छन् । राज्यको सामथ्र्य वृद्धिका लागि बजेटका माध्यमबाट चाल्नु पर्ने कदमका विषयमा महासचिव पोखरेलले महत्वपूर्ण १५ बुँदे सुझाव दिएका हुन्। अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनका लागि विशेष योजना आवश्यक रहेको उनको धारणा छ।
अनौपचारिक अर्थतन्त्र सबै कालो धन नहुने पनि उनले स्पष्ट पारेका छन् । नेपालको प्राकृतिक श्रोत ढुङ्गा, गिट्टी र बालुवा समेतलाई आय आम्दानीको दिगो श्रोत बनाउने आँट गर्नुपर्ने उनको सुझाव छ। ‘निर्माण सामाग्रीको सहज आपूर्ति नहुँदा विकास निर्माण समेत प्रभावित हुने गरेको छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्।नेपालको वन पैदावारको दिगो उपयोगको नीति र योजना अघि बढाउन पोखरेलले सुझाव दिए।
निकुञ्ज र संरक्षण क्षेत्र बाहेकको वन क्षेत्रको व्यावसायिक उपयोग गर्ने सहज नीति आउनु पर्ने उनले बताए। वन क्षेत्रमा रहेका तर विकासका दृष्टिकोणबाट रणनीतिक महत्वको जमिनलाई वन क्षेत्रबाट अलग गरी त्यसको प्रयोग गर्ने सहज व्यवस्था आवश्यक छ रहेको उनले उल्लेख गरेका छन् । नेपालको उत्पादनको बजारीकरण र कच्चा पदार्थमा आधारित उद्योगलाई प्रतिकूल असर पुग्ने भन्सार राजश्वमा सुधार गर्नु पर्ने उनको सुझाव छ। विदेशबाट आयात हुने कच्चा पदार्थको तुलनामा तयारी वस्तुमा आयत कर छुट दिने अवस्था अन्त्य गरिनु पर्ने महासचिवले धारणा राखेका हुन् ।
‘भन्सार दरमा न्यून विजकीकरणको व्यवस्था अन्त्य गरिनु पर्दछ, वास्तविक मूल्यमा आधारित रहेर भन्सार दर लागु गरिनु पर्दछ’, उनले भने। भारतीय पर्यटकहरूले नेपाल आउँदा ल्याउन पाउने नगद रकमको सीमा बढाउनु पर्ने सुझाव पोखरेलले दिए । भारतीय पर्यटकहरूले ल्याउने सवारी साधनलाई भन्सार विन्दुमा नै निश्चित समयका लागि रोड पर्मिटको व्यवस्था मिलाउनु पर्ने सुझाव उनको छ।
भारतबाट आयात हुने तरकारी र फलफूलमा अनिवार्य रूपमा विषादी परीक्षणको व्यवस्था मिलाउनु पर्ने र हरेक वस्तुको ब्राण्डिङ र लेवलिङ अनिवार्य गरिनु पर्ने उनको धारणा छ । ‘नेपालबाट निर्यात हुने सबै प्रकारका वस्तुहरूको व्राण्डिङ र लेवलिङ गरेर मात्र निर्यात गर्ने व्यवस्था मिलाउनु पर्दछ’, पोखरेलको सुझाव । नेपालका प्रमुख सहरहरूमा व्यवसाय दर्ता गरी गरिने सबै प्रकारका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गरिनु सुझाव उनले दिएका हुन्।
उच्च पहाडी र हिमाली क्षेत्रमा मास टुरिजमको विकासका लागि संरक्षण क्षेत्रको जमिन निजी क्षेत्रलाई निश्चित समयका लागि लिजमा दिने व्यवस्था अघि बढाइनु पर्ने सुझाव पोखरेलको छ । कृषि उत्पादनलाई प्रवर्धनका लागि अनुदानको व्यवस्था गरिनु उनले सुझाव दिएका छन् । ‘साना किसानसम्म सहजपुरमा उत्पादनमा आधारित अनुदान पुग्ने व्यवस्था गर्नु पर्दछ’, पोखरेलले दिएको सुझावमा उल्लेख छ। स्टार्ट अप योजनालाई वस्तु र सेवाको उत्पादन क्षेत्रमा विस्तार गर्ने गरी पर्याप्त रकमको व्यवस्था गर्नु पर्नु सुझाव उनले दिए। यसबाट राष्ट्रिय समाथ्र्य वृद्धि भई समृद्ध नेपाल सुखी नेपाली निर्माणको अभियानमा सार्थक योगदान पुग्ने उनको धारणा छ ।