पूर्व डीएसपी पन्थीले उठाएको भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीएसपी गोविन्द पन्थीले भिजिट भिसा प्रकरणमा अनुसन्धान प्रभावित पारिएको भनी गरेको खुलासाबारे गृह मन्त्रालयले आन्तरिक छानबिन थालेको छ । पूर्व डीएसपी गोविन्द पन्थीले उठाएको विषयमा मन्त्रालयले आन्तरिक छानबिन थालेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत पन्थीले भिजिट भिसामा हुने भ्रष्टाचारको अनुसन्धान गर्दा आफ्नो सरुवा भएको उल्लेख गरेका थिए । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको जोडबलमा आफ्नो सरुवा हुँदा अनुसन्धान प्रभावित भएको पन्थीको दाबी छ ।
भिजिट भिसा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको सचिवालय टीम पनि अनुसन्धानको दायरामा आउने उनले बताए । अध्यागमनमा हुने अनियमिततामाथि अधिकार सम्पन्न न्यायिक आयोग गठन गरी अनुसन्धान गर्दा एकाधबाहेक सबै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालयको टोलीसमेत कानूनी कठघरामा उभिनु पर्ने स्थिति आउने उनको दाबी छ ।
पन्थीका अनुसार २०८० को असोज १९ गते १ हजार ६ सय ४१ वटा राहदानी सहितको शङ्कास्पद कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको थियो । त्यसको प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले थालेको थियो । तर पछि त्यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हस्तान्तरण गरिएको थियो । प्रारम्भमा कागजातहरू ३ नं पिलरमा गएकाले अनुसन्धानमा प्रगति नहुँदा एसएसपी सोमेन्द्र सिंह राठौरको निर्देशनमा पन्थीको टोलीलाई त्यसको अनुसन्धान गर्ने जिम्मा लगाइएको थियो ।
अनुसन्धान भइरहेकै बेला आफ्नो सरुवा गरेर अनुसन्धान रोक्ने काम भएको उनको भनाइ छ । पन्थीले भिजिट भिसाको १७ बुँदे मापदण्डलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा नै ६ बुँदे बनाइएको परिणाम नेपाल सरकारले जोखिमयुक्त भनेका देशमा समेत नेपाली कामदार पुगेर अलपत्र परेको तथ्य पनि सार्वजनिक गरेका छन् ।