हामी सत्ताको गणितीय खेलमा छैनौं : वर्षमान पुन


२०८२ जेठ १० शनिबार १५:४४ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफूहरू सत्ताको खेलमा नलागेको र २०८४ कै चुनाव पर्खेर बसेको बताएका छन् । 

पाल्पामा शुक्रबार मगर राष्ट्रिय मुक्ति मोर्चा रम्भा र पूर्वखोला गाउँपालिका पाल्पाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले माओवादी सरकारको अंकगणितमा नलाग्ने जिकिर गरेका हुन् । ‘हामी सत्ताको गणितीय खेलमा छैनौं, ०८४ पर्खेर बस्छौँ’, पुनले भने, ‘सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौं । गर्न नसकेका र गल्ती भएका कुरामा क्षमा माग्छौं । गल्ती सुधार गरेर जनतातिर फर्कन चाहन्छौं ।’ उनले प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव र सहसचिव भइसकेका र उत्पीडित समुदाय र जातजातिभित्रका धनी मानिसले समावेशी कोटाबाट अवसर लिने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् । 

‘प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव, सहसचिव भइसकेकाहरूले र निजी शैक्षिक संस्थाबाट राम्रो शिक्षा पाएकाहरूले समावेशीतामा अवसर पाउनु हुन्न । मन्त्री भइसकेका मेरा छोराछोरीले समावेशीताबाट होइन, प्रतिस्पर्धाबाट आउनु पर्छ’, उनले भने, ‘जनजातिले पाउनु पर्छ तर गरिब, किसान र पढ्न नपाएका जनजातिका छोराछोरीले अवसर पाउनु पर्छ । दलितले पाउनु पर्छ, नेता दलितले होइन, कमजोर र पछि परेको दलितले पाउनु पर्छ । मगरको नाममा काठमाडौँका महँगा निजी स्कुलमा पढेका मगरले समानुपातिक कोटाबाट अवसर लिने होइन, पाल्पाको गाउँमा सरकारी विद्यालय पढेका मगरले पाउनु पर्छ ।’

१० जनयुद्धले एकात्मक र केन्द्रीकृत सामन्ती व्यवस्थाका कारण पछि पारिएका समुदाय र क्षेत्रका जनतालाई राज्यमा बराबरी हकदार बनाएको उनले बताएका छन् । एक लाख हाराहारीमा रहेको निजामती प्रशासनमा २८ हजार महिलाको प्रवेश भएको तथा सरकारी अड्डामा दलित, जनजाति, मधेसी र थारु कर्मचारी भेटिने गरेको तथ्य उनले सुनाए। 

‘२८ हजार ममिहलाहरू समावेशीबाट निजामती सेवामा प्रवेश गरिसकेका छन् । आज तपाईं अड्डा–अदालतमा जाँदा जनजाति, महिला, दलित, मधेसी सबै जातका मानिसहरू कर्मचारीका रूपमा देख्नु हुन्छ’, पुनले भने, ‘यो कमरेड प्रचण्डको नेतृत्वमा भएको जनयुद्धका कारण सम्भव भएको हो । यो ऐतिहासिक उपलब्धि हो, क्रान्ति हो ।’

यस क्रममा पुनले शासकको भाषा नै सबैको भाषा, शासकको संस्कृति नै सबैको संस्कृति र शासकले लगाउने पोसाक नै राष्ट्रिय पोसाक भन्ने व्यवस्था हटाएर सबै जातजाति, सम्प्रदायका भाषा, संस्कृति र पोसाकलाई राष्ट्रिय मान्यता दिने गणतन्त्र ल्याउनु ठूलो उपलब्धि भएको बताए । 

पुनले जनजाति भएकै कारण उपेक्षा गरिएका राणा शासनविरोधी आन्दोलनका प्रथम सहिद लखन थापामगरलाई गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले उनलाई सहिदको मान्यता दिएको सुनाए । जनतालाई सार्वभौम, मालिक र निर्णायक बनाउने आन्दोलनको नेतृत्व गरेका कारण आफ्ना अध्यक्ष प्रचण्डलाई राजनेता मानिएको दाबी उनले गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७