सहसचिव भट्टराईसहित पाँच जना तारिखमा छुटे


२०८२ जेठ ८ बिहीबार ०१:२१ बजे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाइएकाबाट रकम असुलीको आरोप लागेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित पाँच जना तारिखमा छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई एक साताको तारिखमा छाडेको छ । बुधबार पक्राउ गरी हाजिरीजमानीमा राखिएका भट्टराईसहित भक्तपुरका खगेन्द्र सुवेदी, सीआईटी कलेजमा कार्यरत कविता पौडेल र हात्तीसारमा रहेको ट्राभल एजेन्सी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कालाई अर्को साता उपस्थित हुने गरी अख्तियारले तारिखमा छाडेको हो । उनीहरुबाट बरामद डिभाइसहरु विधिविज्ञान प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन समय लाग्ने भएकाले त्यतिञ्जेलका लागि तारिखमा छाडिएको अख्तियार स्रोतले जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट मंगलबार साँझ मात्रै गृह मन्त्रालय सरुवा गरिएका सहसचिव भट्टराईलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर बिहीबार उपस्थित हुने शर्तमा साँझ छाडेको थियो । भट्टराईलाई अख्तियारको टंगालस्थित कार्यालयको हिरासतमा राखेर सोधपुछ गरिएकामा आज (बिहीबार) उपस्थित हुने शर्तमा छाडिएको थियो ।

त्रिभुवन विमानस्थलबाट गैरकानुनी रूपमा भिजिट भिसामा दुबईलगायत मुलुक पठाउन मानव तस्करसँग सेटिङ गरी प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म असुल्ने गरेको लगायत आरोपमा उजुरी परेपछि अख्तियारले यस विषयमा अनुसन्धान गरिरहेको छ । 

अख्तियारले बुधबार नै विमानस्थल अध्यागमनमा छापा मारेर विद्युतीय उपकरण (डिभाइस) र अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । त्यस क्रममा अख्तियारले काठमाडौंबाट एउटा ट्राभल एजेन्सी र भक्तपुरमा अरू दुई जना व्यक्तिका घरबाट पनि डिभाइस र अरू कागजातहरू नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले मंगलबार राति नै प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई तानेर उनका ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई सरुवा गरेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७