साँगाबाट २५ लाखसहित दुई युवक पक्राउ

काभ्रे । बनेपा नगरपालिका–१४ साँगाबाट स्रोत नखुलेको २५ लाख नगदसहित दुई युवक पक्राउ परेका छन्। मंगलबार दिउँसो पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस रोकेर जाँचको क्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमलाले बोकेको रातो जेब्रा झोलाबाट स्रोत खुल्न नसकेको २५ लाख रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
नगद बोकेका धमालासँगै यात्रामा रहेका उनका साथी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय सञ्जय कुमार साहालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले बताए ।
दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याइएको र नगदको स्रोत खुलाउने विषयमा थप अनुसन्धान भइरहेको डीएसपी घलेले बताए । पक्राउ गरिएका दुवै जनाबाट प्रारम्भिक सोधपुछमा रकमको स्रोत स्पष्ट जानकारी दिन नसकेको प्रहरीले जनाएको छ ।