नेपाल–भारत सीमाबाट एसएसबीद्वारा चिनियाँ नागरिक पक्राउ


२०८२ जेठ ५ सोमबार १७:०४ बजे

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित नेपाल–भारत सीमाबाट एक चिनियाँ नागरिक भारतीय सुरक्षा निकाय एसएसबी (सीमा सुरक्षा बल) द्वारा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक य सिचाओ छन् ।

शुक्रबार दिउँसो बरियारपट्टीको दशगजा क्षेत्रमा भारततर्फको दृश्य खिचिरहेको अवस्थामा यू सिचाओलाई एसएसबीले नियन्त्रणमा लिएको भारतीय सुरक्षा स्रोतहरूले जनाएका छन् । उनलाई हालसम्म पनि एसएसबीकै नियन्त्रणमा राखिएको छ । उक्त घटनासँगै त्यही स्थानबाट दुई जना नेपाली नागरिकलाई समेत एसएसबीले नियन्त्रणमा लिएको थियो । यद्यपि सोधपुछपछि दुवै नेपालीलाई शुक्रबार राति नै रिहा गरिएको स्थानीय स्रोतहरूले जानकारी दिएका छन् ।

सिरहा सुखिपुर नगरपालिका–३ बस्ने ललितपुर धापाखेलको सुमेरु अस्पतालमा कार्यरत सन्दिप दासका साथी ती चिनियाँलाई ३८ डिग्रीको गर्मीले उकुसमुकुस भएपछि खुल्ला हावा खान निस्किएको अवस्थामा भारतीय सुरक्षाकर्मीले बोलाएर पक्राउ गरेको बताइएको छ । पेशाले चिकित्सक रहेका दास र यु साथी हुन् । दास भन्छन्, ‘सीमा क्षेत्र दशगजा पार नगर्दै, नेपाली भूमिमा छँदै एसएसबीले गफ गर्न बोलाएर समात्यो ।’ केहीबेरको सोधपुछपश्चात सन्दिपलाई छाडियो भने यो कुरा थाहा पाएर समन्वय गर्न गएका सशस्त्र प्रहरी बलका डिएसपीलाई केही कुरा बुझ्नु छ अनि छाडिदिन्छौं भन्दै रित्तो हात फर्काइयो ।’

डाक्टर दासका अनुसार चिनियाँ नागरिक युको सबै कागजात वैध छ । चिनियाँ पासपोर्ट र ३ महिने नेपाली भिसा रहेका उनलाई गाउँ घुम्न बोलाएका थिए । सम्भवतः सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा पोष्ट (बिओपी) नरहेको स्थानमा घुम्दै गरेको बखत भारतीय एसएसबीले उनीहरुलाई पारी बोलाएको हुनसक्छ । घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताइएको छ । नेपाल–भारत खुला सीमानामा यस्ता घटनाहरू बेलाबेलामा भइरहँदा स्थानीयवासीहरूले आवागमन तथा सामान्य गतिविधिमा समेत असहजता महसुस गर्न थालेका छन् । प्रहरी र स्थानीय प्रशासनले उक्त घटनाको सम्बन्धमा अनुसन्धान र समन्वय कार्य गरिरहेको जनाएको छ । यस विषयमा दुबै देशका सुरक्षा निकायबीच थप समन्वय आवश्यक रहेको स्थानीय नेतृत्वको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७