नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक आजदेखि नयाँ दिल्लीमा

२ हजार ७ सय १६ वटा सीमास्तम्भ गायब


२०८२ कार्तिक २६ बुधबार १०:०१ बजे
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल/एसएसबीका महानिर्देशक सञ्जय सिंहाल

काठमाडौं : नेपाल–भारत सीमा सुरक्षा प्रमुखस्तरीय बैठक आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदैछ । 

यो दुई देशका सीमा सुरक्षा प्रमुख तहमा हुन लागेको नवौं बैठक हो । सीमा सुरक्षा समन्वय बैठक आज (बुधबार) देखि ३ दिनसम्म चल्ने छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गर्दैछन् ।बैठकमा सहभागी हुन सशस्त्र महानिरीक्षक अर्यालको नेतृत्वमा आठ सदस्य उच्चस्तरीय टोली दिल्ली पुगेको छ । टोलीमा सशस्त्र प्रहरीका एआईजी गणेश ठाडा मगर, नेपाल प्रहरीका डीआईजी दीपक रेग्मीसहित गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि पनि सहभागी छन् ।

भारतबाट बैठकमा सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंहालको नेतृत्वमा सुरक्षा अधिकारी र गृह तथा विदेश मन्त्रालयका अधिकारी सहभागी हुने छन् । 

बैठकमा सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रण, क्रसबोर्डर अकुपेसन र यसले सीमा सुरक्षामा पारेका असर, सीमा स्तम्भ सुरक्षा, मर्मतसम्भार, रेखदेख, सीमामार्फत हुने घुसपैठ रोकथाम तथा नियन्त्रण, सीमा सुरक्षामा तैनाथ बोर्डर आउट पोस्ट, गुल्म, गण र बाहिनी तहमा भएका बैठकको समीक्षा एवं यसको कार्यान्वयनको अवस्था अनि थप साझा रणनीति र कार्यान्वयनलगायत विषयमा समीक्षा हुने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

नेपाल–भारत करीब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा सीमा फैलिएको छ । दुबै देश खुला सीमा भएका कारण आवतजावतमा सहज छ । तर, यसकै फाइदा उठाएर तेस्रो देशका नागरिकको घुसपैठ मात्र होइन, एक देशमा अपराध गरेर अर्को देशमा सहजै भाग्ने गरेका छन् । यसबाट दुबै देशका सुरक्षाकर्मीले चुनौतीको सामना गरिरहेका छन् ।

यी विषयमा छलफल गरी साझा समस्या सामना गर्ने गरी शुक्रबार (२८ कात्तिक) मा संयुक्त हस्ताक्षर हुने जनाइएको छ ।
सरकारले भारततर्फ २ सय ४४ स्थानमा एपीएफको बोर्डर आउट पोस्ट (बीओपी) मार्फत जनशक्ति खटाएको छ । भारतले भने ४ सयभन्दा बढी स्थानमा एसएसबीको फौज तैनाथ गराएको छ ।

पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिम कञ्चनपुरसम्म १८ सय ८० किमि लम्बाइमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा छुट्याउने ८ हजार ५ सय ५३ सीमास्तम्भ छन् । यिनको रेखदेख, संरक्षण र हराएका पिलर खोजी तथा नयाँ राख्ने विषय पनि बैठकको प्राथमिकतामा छ ।

भारततर्फ सीमा कायम गर्ने २ हजार ७ सय १६ वटा सीमास्तम्भ गायब भएकामा केही भेटिएर मर्मत गरिएको थियो । तर, धेरैजसो हराएका पिलरको खोजबिन हुन सकेको छैन । करिब १६ सय सीमास्तम्भ जीर्ण र करिब २९ सय स्तम्भ सामान्य मर्मत गर्नुपर्ने अवस्थामा रहेकामा पछिल्लो पटक बिजोर अंकका स्तम्भ नेपाल र जोर अंकका स्तम्भ भारतीय पक्षले मर्मत गर्ने सहमति भए पनि मर्मत पूर्ण हुन सकेको छैन ।

दुई देशका नाप विभाग प्रमुखस्तरीय बैठकले जोर पिलर मर्मत भारत र बिजोर नेपालले गर्ने गरी विगतमै सहमति गरिसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७