मन्त्रिपरिषद्को बैठक बस्दै, होला गभर्नर नियुक्ति ?

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (सोमबार) बस्दैछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठक नियमित भए पनि निकै महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ । आजको बैठकले शिक्षकदेखि चिकित्सकका मागको बारेमा सम्बोधन गर्ने जनाइएको छ ।
यस्तै आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना पनि छ । नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भइसकेको नेताहरूले बताएका छन् । गभर्नर पद भने २४ चैतपछि रिक्त छ । राष्ट्र बैंकको गभर्नर लामो समयदेखि नियुक्त हुन सकेको छैन ।
गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वबीच भएको भनिए पनि अहिलेसम्म उनको नाम गभर्नर नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिबाट सिफारिस हुन सकेको छैन । सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका कारण रिक्त स्थानमा नयाँ सदस्य नियुक्ति गर्नुपर्नेछ । सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुनेछ । नाम सिफारिस भएर गएपछि मात्रै मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय गर्नेछ ।
गभर्नर नियुक्तिमा ढिलाइ भएपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उनीहरुबीच यही साता गभर्नर नियुक्त गर्ने सहमति बनेको बताइएको छ । यसैगरी प्रहरीका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नियुक्त गर्नेछ । गत साता गृह मन्त्रालयले पाँच डीआईजीलाई एआईजीमा बढुवाको सिफारिस गरेको थियो । गृहले डीआईजीहरू चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डाक्टर मनोजकुमार केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । आजको बैठकले उनीहरुलाई एआईजीमा नियुक्त गर्ने जनाएको छ ।