राष्ट्रपति ट्रम्पको दावी : रुस र युक्रेन शान्ति सम्झौताको नजिक

काठमाडौं । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेका छन् । ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताएका छन् ।
अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यो दाबी गरेका हुन् । रुसी नेता पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ ह्विटकोफबीचको वार्ता ‘रचनात्मक र फलदायी’ भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास सफलतापूर्वक अघि बढिरहेको बताएका छन् । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति भिडियो सम्बोधनमा भनेका छन्, ‘रुसलाई बिना शर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ ।’ पुटिनले जेलेन्स्कीसँग सशर्त वार्ता गर्न तयार रहेको हालै संकेत गरेका थिए ।