राजसंस्था पुनर्स्थापनाको आन्दोलन म मरे पनि रोकिँदैन : सुवेदी


२०८२ बैशाख १३ शुक्रबार ०१:१३ बजे

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरुलाई थुनेर राजसंस्था  पुनर्स्थापनाको आन्दोलन नरोकिने बताएका छन् । चैत १५ गतेको घटनापछि घरमै नजरबन्दमा राखिएका सुवेदीलाई केही दिनअघि मुक्त गरिएको थियो । घटनाबारे बताउन उनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफूहरुलाई सरकारले धरपकड गरेर आन्दोलन नरोकिने दाबी गरे ।

उनले आफूलाई थुनेर मात्रै नभइ मरेर गए पनि आन्दोलन नरोकिने बताउँदै भने, ‘आन्दोलन त नवराजलाई थुनेर मात्र होइन, नवराज मर्‍यो भने पनि रोकिँदैन । जबसम्म देशमा राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना तथा संघीयता खारेज हुँदैन, तबसम्म आन्दोलन जारी रहन्छ ।’ उनले आन्दोलन शान्तिपूर्ण हुने तर सरकारले बल प्रयोग गरको खण्डमा प्रतिकार गर्ने चेतावनी दिए ।

सुवेदीले भने, ‘आन्दोलन शान्तिपूर्ण हुने तर सरकारले बल प्रयोग गरको खण्डमा प्रतिकार गर्छौ । मेरो अन्तिम इच्छा भनेकै राजसंस्थाको पुनःस्थापना हो ।’ उनले आफूलाई सरकारले विना कारण २४ दिनसम्म घरमै थुनेको गुनासो गरे । उनले चैत १५ गते मध्यरातिदेखि आफूलाई थुनामा राखेको उल्लेख गरे ।

‘जुन दिन घटना घट्यो, म थाकेको पनि थिएँ । बेलुकी ७ बजेतिरै सुतें । राति १२ बजे डीएसपीको टोलीले घरमा आएर घण्टी बजाएपछि मेरो छोरोले गएर किन आउनुभो भनेर सोधेछ’, उनले अगाडि भने, ‘उनीहरुले ‘तपाईंको बुवालाई हाउस एरेस्ट गर्ने आदेश छ, अहिले घरमा हुनुहुन्छ कि हुनुहुन्न ? भन्दा छोराले सुत्नु भएको छ भन्यो । त्यसपछि सुतेकै ठाएँमा हेर्न चाहन्छौं भनेर बेडरुममै आएछन् । म त निदाइरहेको थिएँ । उनीहरुले मलाई हेरेनन् मात्रै, फोटो पनि खिचेर लगेछन् ।’

उनले आफ्नो मानव अधिकारको हनन् भएको भन्दै संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालयमा उजुरी दिएका छन्। ८७ वर्षे सुवेदीलाई राजसंस्था पुनःस्थापनाका लागि हुने आन्दोलनको नेतृत्व दिइएको छ । राजसंस्था स्थापनाका पक्षमा रहेका तीन दर्जनभन्दा बढी संस्थाहरुसँग समन्वयन गरी संयुक्त रुपमा आन्दोलन अघि बढाउन सुवेदीलाई नेतृत्व दिइएको हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७