नवराज सुवेदीको पत्रको विषयमा रास्वपाले छलफल नगर्ने, जवाफ पनि नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजसंस्था पुनर्स्थापना लागि हुने संयुक्त जनआन्दोलनमा संलग्न नहुने स्पष्ट पारेको छ । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उक्त आन्दोलनमा रास्वपाको नैतिक समर्थन वा ऐक्यवद्धता पनि नरहने स्पष्ट पारेका छन् ।
संयुक्त जनआन्दोलन समितिका तर्फबाट संयोजक नवराज सुवेदीले हिजो रास्वपालाई १५ जेठबाट हुने आन्दोलमा सहभागिता र सहकार्यको प्रस्ताव गर्दै रास्वपालाई पत्र पठाएका थिए । उनले कार्यवाहक सभापति डीपी अर्याललाई सम्बोधन गर्दै लेखेको पत्र हिजो रास्वपा कार्यालयमा पुगेको थियो । अर्यालले आफूलाई राप्रपाका एक केन्द्रीय सदस्यको फोन गरेको जनाए ।
‘नवराज सुवेदीले फोन गर्नु भएको होइन । राप्रपाको एक केन्द्रीय सदस्यले फोन गरेर एउटा पत्र दिनु छ भन्नु भयो । मैले पार्टी कार्यालय छोड्न भनेको थिएँ । पत्र मैले पाइसकेको छु । तर, उहाँहरुले गर्ने भनेको आन्दोलनमा हाम्रो कुनै पनि संलग्नता र सहकार्य हुँदैन’, अर्यालले भने । उनले पत्रका विषयमा पार्टीभित्र बहस पनि नहुने स्पष्ट पारेका छन् ।
अर्याललाई पठाएको पत्रमा सुबेदीले रास्वपा सभापति रवि लामिछानेले यो व्यवस्थामा आफूले निष्पक्ष न्याय पाउनेमा शंका व्यक्त गरेको तथा रास्वपा यो व्यवस्थाप्रति असन्तुष्ट रहेको आफ्नो बुझाइ रहेको उल्लेख गरेका छन्। पत्रमा उल्लेख विषयमा अर्यालले भने, ‘त्यो उहाँहरुको बुझाइ होला । त्यसमा हाम्रो केही गुनासो छैन । हाम्रो दृष्टिकोण के छ भन्ने अरुले भनिदिने कुरा होइन। उहाँहरुको बुझाइलाई हामी सम्मान गर्छौं तर यो कार्यक्रममा हाम्रो कुनै पनि किसिमको आवद्धता वा सरोकार रहँदैन।’ उनले रास्वपाभित्र अहिले राजसंस्थाको बहस नै नरहेको बताएका छन् ।