पाकिस्तानले गर्यो भारतसँगका सबै द्विपक्षीय सम्झौता रद्द

काठमाडौं । जम्मु कश्मीरस्थित पहलगाम हमलापछि भारतको कडा निर्णयको जवाफमा पाकिस्तानले दुई देशबीच भएका सबै द्विपक्षीय सम्झौता रद्द गरेको छ । योसँगै पाकिस्तानले सन् १९७२ को सिमला सम्झौता पनि रद्द गरेको छ ।
भारतले सिन्धु जलसम्झौता निलम्बनसहित पाकिस्तानसँगको कूटनीतिक सम्बन्धमा असर पर्ने गरी विभिन्न पाँचवटा निर्णय गरेको जवाफमा पाकिस्तानले पनि जवाफी कदम चालेको हो । प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको नेसनल सेक्युरिटी कमिटीको बैठकले सिमला सम्झौतासहित सबै सम्झौता स्थगित गर्ने निर्णय लिएको हो ।
पाकिस्तानले भारतले सिन्धु जलसम्झौता रोकेमा त्यसलाई ‘एक्ट अफ वार’ अर्थात् युद्ध निम्त्याउने घटनाका रूपमा लिने बताएको छ । पाकिस्तानले सार्क नागरिकका लागि दिँदै आएको भिसा भारतीय नागरिकका लागि निलम्बन गरेको छ भने शिख तीर्थयात्रीबाहेक सबै भारतीयलाई ४८ घण्टाभित्र पाकिस्तान छाड्न आदेश दिएको छ ।
पाकिस्तानले भारतसँगका सबै व्यापार निलम्बित गरेको छ भने भारतको स्वामित्व भएका र भारतद्वारा सञ्चालित सबै एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गर्ने र बाघा सीमा बन्द गर्ने निर्णय गरेको छ । सिमला सम्झौता भारत र पाकिस्तानबीच २ जुलाई, १९७२ मा भएको थियो । यो सम्झौतामा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोले हस्ताक्षर गरेका थिए ।
जुन सम्झौतामा दुवै देशले आपसी विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने र युद्ध वा बल प्रयोग नगर्ने, सबै मुद्दालाई द्विपक्षीय वार्ताका माध्यमबाट हल गर्ने उल्लेख थियो । यही सम्झौताअनुसार सन् १९४९ मा युद्धविराम रेखालाई नयाँ नाम अर्थात् लाइन अफ कन्ट्रोल (एलओसी) का रूपमा स्वीकार गरिएको थियो ।