आधारभूत कुरामा कम्प्रमाइज गर्नुपरे सरकारबाट बाहिर जान्छौं : गगन थापा

‘कांग्रेसमा तल्लो तहसम्म गुट होइन, गिरोह बन्यो’


२०८२ बैशाख १२ बिहीबार २२:३८ बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस समस्याबाट भागेर नहुने बताएका छन् । लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै उनले कांग्रेस अहिले सरकारमा जानुपरेको बाध्यता सुनाए । उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन समाधान पनि दिनुपर्छ । आज हामी बाध्यतामा छौँ, एक्लै छैनौं सरकारमा छौं । कतिपय हामीले कम्प्रमाइज गरेका छौं। तर आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौं । हामीले भन्न सक्नु पर्छ, पर्‍यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ हामी ।  सरकारै सबैभन्दा ठूलो कुरा होइन । मैले यो सरकारको मात्रै कुरा गरेको होइन ।’

उनले कांग्रेसले शिक्षक आन्दोलन, निजामती कर्मचारीलगायतको आन्दोलनको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताएका छन् । उनले अन्य दलबाट राष्ट्रपति, उपराष्ट्रपति भएका व्यक्तिहरू राजनीतिमा फर्किए पनि कांग्रेसमा त्यस्तो नहुने भन्न सक्नुपर्ने बताएका छन् । उनले आफूले निराशा बढाउन नखोजेको भन्दै प्रमुख पार्टीमा रहेका शीर्ष नेताहरूप्रति आम मानिसको भरोसा टुटिसकेको बताए । महामन्त्री थापाले पार्टीमा गुटभन्दा पनि गिरोह बनेको भन्दै आपत्ति जनाएका छन् । थापाले नेताहरूलाई महाधिवेशन लागिसकेको विषयमा आपत्ति जनाएका हुन् ।  

‘पार्टीमा गुट होइन गिरोह बनेको छ । तल्लो तहसम्म बनेको छ । गुट भए आफू हुने, नभए नहुने भइसक्यो । तर समस्या यहाँ तल जरामा हो छियाछिया पारेका छौँ,’ उनले भने, ‘तर, मूल कुरा छोडेर सबैलाई अहिले नै अधिवेशन लागेको छ । नभनेका मात्रै हुन् मुखले ।’ उनले अहिले नेताहरूको ७० प्रतिशत समय अधिवेशनको नाममा खर्च भइरहेको पनि बताए। थापाले काठमाडौँ बस्यो महामन्त्री भनेर गाली गर्ने र जिल्ला जाँदा महाधिवेशनको तयारी ग¥यो भनेर टिप्पणी गर्न थालिएकोमा आपत्ति जनाए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७