कञ्चनपुरमा जलेको अवस्थामा शव भेटियो

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव भेटिएको छ । बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए । शवको सनाखत भने हुन सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल भन्दा केही पर घोप्टो परेको अवस्थामा पुरुषको जलेको शव भेटिएको हो। शव पूरै जलेर क्षतविक्षत रहेको प्रहरीले जनाएको छ । स्थानीयले घटना शंकास्पद भएकाले सुक्ष्म अनुसन्धानको माग गरेका छन् । घटनास्थल नजिकै मोबाइल र वालेट (पर्स) भेटिएको छ । स्थानीयले उक्त शव बेलडाँडी गाउँपालिका निवासी हरिकृष्ण रानाको रहेको दाबी गरेका छन् । तर प्रहरीले मृतकको पहिचान यकिन नभएको जनाएको छ ।