दुर्गा प्रसाईलाई जहाजबाट काठमाडौं ल्याइने

विराटनगर । भारतमा पक्राउ परेका तीनकुनेको हिंसात्मक आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईलाई जहाजबाट काठमाडौँ ल्याइने भएको छ। दुर्गाका दाइ लक्ष्मी प्रसाईले उनलाई केहीबेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्याइने जानकारी दिएका छन् । घटनापछि फरार दुर्गा प्रसाईलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् ।
पूर्वी नाका काँकडभिट्टामा उनका दाजु, शुभ चिन्तक र कानुन व्यवसायीहरू भेला भएका छन्। मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरू उनको प्रतीक्षामा रहेको पत्रकार लक्ष्मी उप्रेतीले जानकारी दिए। त्यसपछि दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी रहेको जनाइएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले भने यस बारेमा केहि पनि बताएका छैनन् ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाई बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन् । प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो । फरार भएयता उनले दुईटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए । तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए । प्रसाई भागे लगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै आसाम पुगेको थियो ।