टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

बारा । बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ भुईपुल नजिकै टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरियन बस्ने ४६ वर्षीय नारायणहरि शर्माको मृत्यु भएको हो । मृत्यु भएका कार चालकको हालसम्म परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुशवाहाले जानकारी दिए ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि निजगढ नगरपालिकास्थित प्रसुती अस्पताल लगिएको थियो, तर चेकजाँच गर्दा दुवै जनाको मृत्यु भईसकेको अस्पताल प्रशासनले जनाएको छ । दुर्घटनापछि टिपर चालक फरार रहेका छन् । उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।