गभर्नर पक्का भएपछि भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

काठमाडौं । गभर्नर नियुक्त हुने पक्का भएपछि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । उनले आज (शुक्रबार) राजीनामा दिएका हुन् । यद्यपी नेपाल राष्ट्र बैंक ऐनले ‘गभर्नर नियुक्तिको प्रयोजनका लागि कार्यकारी निर्देशकले राजीनामा दिनुपर्छ’ भनेको छैन । गभर्नर नियुक्त भएपछि कार्यकारी निर्देशकबाट स्वतः राजीनामा गरेको मानिन्छ ।
सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन ।
बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टका नाममा सहमति भएको थियो । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सम्भवत आजै भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रीपरिषद् बैठक डाकेर भट्टलाई गभर्नर नियुक्त गर्ने तयारी छ । गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले उनलाई डाकेर भेटिसकेका छन्।
गभर्नरका लागि नेपाल राष्ट्र बैंकले केही योग्यताहरु तोकेको छ। नेपाली नागरिकका साथै उच्च नैतिक चरित्र आवश्यक पर्छ । यस बाहेक आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र गणित वा कानुन बिषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्छ ।
अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्टले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । राष्ट्र बैंकको विशिष्ट श्रेणीमा बसेर काम गरिसकेकाले भट्टको योग्यतामा कुनै पनि कानुनी अड्चन नरहेको कानुन विज्ञहरु बताउँछन् ।
गभर्नर सिफारिस समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् । समिति सदस्यहरुले आजै सिफारिस गरेर भोलिसम्म गभर्नर नियुक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ । पछिल्लो समय गभर्नरका लागि धेरै जनाले इच्छा देखाएका थिए। गभर्नरकै लागि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि डा. प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका थिए । यद्यपी उनको राजीनामा स्वीकृत भइसकेको छैन। उनी राष्ट्रिय योजना आयोगको सदस्य छन् । गभर्नर सिफारिस समिति बनेपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट ज्ञानेन्द्र ढुङ्गानाले पनि राजीनामा दिएका थिए ।