शिक्षक महासंघ प्रतिनिधिले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं । शिक्षक महासंघका प्रतिनिधिले आज (शुक्रबार) साँझ प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलाई आज साँझ भेट्न लागेको हो । प्रधानमन्त्रीले ७ बजेको समय दिएको छ र शिक्षकका माग र मुद्दाबारे प्रधानमन्त्रीलाई जानकारी गराइने महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ छलफलमा जुटेको छ ।
शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद जारी रहे पनि सहमति जुटेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिर्वतन गर्न सक्ने संकेत महासंघले दिएको छ । शिक्षकहरुको माग अनुसार नै विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरेको छ । तर शिक्षकहरू आस्वस्त भएका छैनन् ।