उच्च अदालत बुटवलमा रविको निवदेनमा भएन सुनुवाई

काठमाडौं । रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदन उपर आज सुनुवाई नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन् । सभापति लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतको आदेशविरुद्ध दिएको छुट्टाछुट्टै निवदनमा एकै पटक सुनुवाई हुने गरी आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको थियो ।
मुद्दा सुनुवाईका लागि लामिछाने कानून व्यवसायी र सचिवालय सदस्य लिएर हिजै रुपन्देही पुगेका थिए । गोला प्रथाबाट न्यायाधीशद्वय जगतबहादुर थापा र सागर विष्टको इजलासमा सुनुवाई समेत तोकिएको थियो । तर, मिसिल अध्ययन गरेपछि न्यायाधीश थापाले सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले लामिछानेसहितको मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि आज सुनुवाई नभएको हो ।
उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई जिल्ला अदालत रुपन्देहीले थुनामा राख्न दिएको आदेशलाई उच्चका न्यायाधीश थापाले केही समय अगाडि सदर गरेका थिए । सोही कारण जिल्लाबाट आएको सोही प्रकारको मुद्दामा आफ्नो धारणाा बनिसकेकाले आफूले हेर्न नमिल्ने बताएपछि पेसी अर्को हप्ताका लागि सारिएको छ ।
न्यायाधीश थापाको भनाइपछि आदालतबाट बाहिरिएका लामिछाने, उनका कानून व्यवसायी र सचिवालयका सदस्य आजै काठमाडौं फर्किएका छन् । यता लामिछानेले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध भोलि (शुक्रबार) पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।