एक कठ्ठा जग्गामै ‘१२ क्विन्टल’ आलु


२०८१ चैत ३ आइतबार २१:१९ बजे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग परेका छन् ।

‘आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ’, चौधरीले भने, ‘रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ, भने जस्तै फलेको छ ।’ पाँच रुपैंयाँ प्रतिदानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए । 

पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उनले बीउका रूपमा राखेर पुनः रोप्ने योजना छ । उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन् । यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उनले बताए । मंसिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ । 

चौधरीले जिल्लाका शीत भण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन् । ‘घरमै राख्दा कुहिएर बिग्रिन्छ’, उनले भने, ‘शीतभण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीत भण्डार गृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।’ तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आएका छन् । सो अवधिमा एघार प्रजातिका आलु लगाएर हेरेको उल्लेख गर्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए । 

अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलुखेती गर्दै आएका छन् । उनले प्रतिवर्ष दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्दै आएका छन्। आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उनी बताउँछन् । 

आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनी बताउँछन् । किसानलाई मर्का नपर्ने गरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उनको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसकेका छन् । पूर्व नगर प्रमुख दीलबहादुर ऐर किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्नका लागि शीतभण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताउँछन् । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७