पूर्वराजालाई सिटौलाकाे चेतावनी : दिएको सम्मान ग्रहण गर्नू, गाडीमा बसेर ताली खाँदै नहिँड्नू

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समीक्षा गर्ने भएको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले संविधान जारी भइसकेपछि संसदका प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरेको भए पनि अपेक्षाकृत उपलब्धी दिन नसकेको बताए । उनले संविधानले प्रत्याभुत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन यसको समिक्षा गर्न अब विलम्व गर्न नहुने बताए ।
उनले भने, ‘संविधान जारी भइसकेपछि यहाँसम्म आइपुग्दा हामी सबैले जसरि भए पनि सरकारको नेतृत्व गरेकै छौं । यो संविधानको कार्यान्वयनबाट हामीले जनतालाई के कति उपलब्धि दिनसक्यौं ? संविधानले ल्याएका संरचना र यसको भावको समिक्षा गर्ने बेला आएको छ । हामीले संविधानलाई जनताको हितमा प्रयोग गरेका छौं कि छैनौं ? हामीले नयाँ संविधानबाट जनताको स्वास्थ्यमा जनताको शिक्षामा हामीले जनताको अधिकार प्रचलनमा ल्याउन सकेका छौं कि छैनौं ? यसको गम्भिर र निर्मम समीक्षा गर्ने बेला भएको छ ।’
फरक प्रसङ्गमा बोल्दै सिटौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरुले गम्भिरतापूर्वक ध्यान दिन नसकेको समेत बताएका छन् । उनले पूर्वराजा शाहले पनि स्पष्टरुपमा जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नु पर्ने बताए । उनले पूर्वराजा शाहले समेत राजनीतिक दलहरु जस्तै जनतासामु नीति तथा कार्यक्रम पेस गर्नुपर्ने धारणा राखे । उनले संविधान मान्ने र परिवर्तनको पक्षमा रहेका दलहरु समेत एकजुट भएर उभिने बेला आएको बताए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफैले संवाद गरेको स्मरण गर्दै सिटौलाले निवासको प्रवन्ध गरेको र सम्मान पनि गरेको भन्दै सम्मान ग्रहण गरेर बस्न आग्रह गरे । ‘म आफैले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्रसँग संवाद गरेको हुँ । निवासको, सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो,’ उनले भने, ‘अहिले मै केही गर्छु भनेर गाडीमा बसेर ताली खाँदै ताली दिँदै हिँड्नु शोभनीय विषय भएन ।’
उनले भने, ‘उहाँले जनतासामु म अब राजनीतिक खेलाडीको रुपमा मैदान आएँ भन्न सक्नु पर्छ । उहाँले मेरो नीति तथा कार्यक्रम यो हो भनेर भन्न सक्नुपर्छ । तर राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने जुन काम भएको छ त्यसमा हामी परिवर्तनकारी दलहरुको जुन मौनता त भन्दिनँ तर तर जुन किसिमको दृढता हुनुपर्ने थियो त्यो म देखिरहेको छैन । परिवर्शत र संविधानको मुलभूत विषयमो पक्षमा रहेका सबै राजनीतिक दलहरु एक पटक फेरि एकतावद्ध भएर उभिने बेला हो ।’