पूर्वराजाको वक्तव्यको स्वागत गरेका बास्तोला बर्खास्त

काठमाडौं । सरकारले पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ । गएको आइतबार काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गर्दै विज्ञप्ति जारी गरेकोमा सरकारले उनलाई बर्खास्त गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो । मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ, निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन २६ (मन्त्रीस्तरीय) निर्णयअनुसार निजलाई पर्यटन प्रवद्र्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जनाकारी गराइन्छ ।
आइतबार उनले सरकारलाई बुझाएको स्ष्टीकरणमा भनेका छन्, ‘देशमा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो । म देशमा राजसंस्थाको पक्षधर हो । राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख । जुन दिन देशमा राजतन्त्र आउने छ, फेरि त्यति वेला जिम्मेवारी लिउँला । तिमीहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बस्न मलाई चाहना छैन । मेरो स्पष्टीकरण यही हो ।’