मैले सार्वजनिक जग्गा मिचेको छैन, शिशिर र सुमनाले पूर्वाग्रह राखे : डा. केसी


२०८१ चैत २ शनिबार १५:५१ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूबिरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई चुनौति दिएका छन् । फागुन २८ गतेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका–९ मनमैजुको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भनि आरोप लगाएका थिए।

सोही विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आधार र प्रमाण बिना रास्वपा सांसदहरुले वदनियतपूर्ण तरिकाले लाञ्छना लगाएको उनले बताए । सांसदको शून्य समयमा सांसदद्वयबाट अस्वभाविक रुपमा आधार तथा प्रमाण नै बिना भ्रमपूर्ण प्रचार गरिएको समेत उनले बताएका छन् । संसदमा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न समेत उनले चुनौति दिए । रास्वपा सांसदद्वयले आफ्नो चरित्र, साँख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानूनी उपचारको बाटो लिने चेतावनी उनले दिए ।

उनकाअनुसार मालपोत कार्यालय मनमैजुले गत साउन १६ गते लेखेको पत्रमा २०८१ साउन १४ गते पत्र प्राप्त भएको र सोको सम्बन्धमा काठमाडौं जिल्ला साविक मनमैजु वडा नम्बर ९ सिट नम्बर १०२०९४४२३ कित्ता नम्बर ६२ को क्षेत्रफल २१.६२ वर्गमिटर जग्गा जग्गाधनी केदार नरसिंह केसीका नाममा र कित्ता नम्बर ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारका नममा कार्यालयको मोठ श्रेस्तामा जनिएको व्यहोरा उल्लेख छ ।

उनले मालपोत कार्यालयले तारकेश्वर नगरपालिकालाई उक्त व्यहोराको पत्र लेखि पठाएपछि स्थानीय वडा कार्यालयले मोठ भिडाउने लगायतका काम गरिसकेको बताएका छन् । कित्ता नम्बर ६३ प्रश्तावित बाटो भनेर पहिले नै पास भइसकेको उनले जानकारी दिए । सोही अनुरुप सीमाङ्कन गर्न भनेर एक वर्षअघि नै आफूले निवेदन दिएको र हाल सीमाङ्कनको काम पनि सकिसकेको जानकारी समेत उनले दिए ।

लगाइएको पर्खालको सन्दर्भमा ढिस्कोको रुपमा रहेको जग्गाबाट माटो, बालुवा झरेर बाटो समेत छेकिने अवस्था रहेकाले उक्त कार्य रोक्नका लागि स्थानीय र जनप्रतिनिधिको आग्रह र रोहवरमा नै २०५५/०५६ सालतिरै पर्खाल लगाइएको उनले बताएका छन् । उनले आफूले कानून विपरित कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममै रहेको बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७