समाजवादी मोर्चाले काठमाडौंमा वृहत जनसभा गर्ने

काठमाडौं । प्रतिपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत जनसभाको आयोजना गर्ने भएको छ । आज (शुक्रबार) बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिएका छन्।
उनले भने, ‘१५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने । हजारौंको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ । संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ ।’
यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने उनले जानकारी दिए । बैठकका निर्णय सुनाउँदै नेकपाका नेता प्रकाण्डले पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निष्कर्ष निकालिएको बताए ।
उनले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत बिरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको बताए । उनले भने, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौं । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरु भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौँ । १५ गतेको वृहत बिरोध प्रदर्शनलाई भव्य बनाउने । प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी कार्यक्रम गर्ने ।’