सुदूरपश्चिममा रिक्त पदमा तत्काल भागवण्डा गरी नियुक्त गर्ने संयन्त्रको निर्णय


२०८१ फाल्गुण २९ बिहीबार ११:३२ बजे

कैलाली । सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका राजनीतिक नियुक्तिसम्बन्धी विभिन्न पदमा भागबण्डाको आधारमा तत्काल पदपूर्ति गर्न कांग्रेस–एमाले सहमत भएका छन् । सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अझै प्रभावकारी बनाउने गरी छलफल अगाडि बढाएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको संयन्त्रको दोस्रो बैठकमा प्रदेश सरकारको कामलाई अझै प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिलाई तत्काल परिपूर्ति गर्ने, जनताको अपेक्षा र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले जानकारी दिए ।

‘सरकारलाई अझै प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको थियो । आपसी समझदारीको आधारमा चाँडै राजनीतिक नियुक्ति परिपूर्ति गर्ने निर्णय गरिएको छ’ प्रवक्ता रावतले भने । सुदूरपश्चिमका प्रादेशिक अस्पतालहरूको अध्यक्ष पद रिक्त हुँदैछ । खेलकुद परिषद् युवा परिषद्, विभिन्न पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठान पनि चाँडै रिक्त हुँदैछन् । राजनीतिक नियुक्तिका बेला गठबन्धनमा खटपट नहोस् भन्नका लागि बुधवारको छलफलले त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट प्रदेश सभापति वीरबहादुर बलायर, मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश उपसभापति लोकराज अवस्थी र प्रदेश प्रवक्ता सुरत रावल थिए । त्यस्तै बैठकमा एमालेको तर्फबाट केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी उपस्थित थिए । बुधवारको बैठकको अध्यक्षता कांग्रेस सभापति बलायरले गरेका थिए । यस अघिको पहिलो संयन्त्रको बैठकको अध्यक्षता एमालेका इन्चार्ज भट्टले गरेका थिए ।

बैठकमा पूर्व मुख्यमन्त्री रावलले आगामी बजेट अझै प्रभावकारी हुनुपर्ने बताएका थिए । ‘अब टुक्रे योजना होइन दिगो रूपले हेरेर गौरवका योजनामा सरकारले चासो दिनु पर्छ ’ उनले भने, ‘आगामी बजेट प्राथमिकताको आधारमा हुनुपर्छ र हुन्छ ।’ बैठकमा मुख्यमन्त्री शाहले आफूले सुधारका केही प्रयास गरेको भन्दै आगामी आर्थिक वर्षको बजेट अझै प्रभावकारी हुने बताए । एमाले केन्द्रीय सचिव भट्टले आपसी समन्वयमा आधारमा काम गर्न सुझाव दिएका थिए ।

राजनीतिक संयन्त्रलाई अझै प्रभावकारी बनाउनु पर्ने भन्दै उनले सत्ता गठबन्धनको संयन्त्र पालिका स्तरसम्म पनि पुराउन आवश्यक रहेको बताएका थिए । सुदूरपश्चिम प्रदेशका दुई ठुला दलका नेतासहितका पार्टीका नेता बसेर प्रदेश सरकारलाई अझै प्रभावकारी बनाउने छलफल गरेका छन् । यसले केही टेवा पुग्ने अपेक्षा गरिएको छ । संयन्त्रको बैठक बुधकार दोस्रो पटक बसेको हो । यसअघि पुस ८ गते मुख्यमन्त्रीकै सरकारी निवासमा बसेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७