आईएमई ग्रुपको दुई अर्ब लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्रीबाट उदघाटन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’ को आज उदघाटन गरेका छन् । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उदघाटन गरेका हुन् ।
आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ । नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिक टन कागज खपत हुने गरेको छ । दुई अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन शुरु गरेको हो ।
शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ । उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आईएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताए ।
अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गरे । उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने वाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरु खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आईएमई ग्रुपको यस्तै उत्पादनमुलक उद्योगमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउदै अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्ष रुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारीसमेत गराए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरु समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरुलाई अवसर दिन थालेको छ । अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आम नेपाली जनताको सोँच तथा सपनासँगको हातेमालोको रुपमा लिन पनि आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा अध्यक्ष ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुनहरु निकै सहयोगी सिद्ध हुने विश्वास लिएको उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरु निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरु सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उल्लेख गरे ।
स्वदेशी होस या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भए नभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरु वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिने पनि अध्यक्ष ढकालले बताए ।
सो अवसरमा अध्यक्ष ढकालले पाथिभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यवसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका रहेको समेत उल्लेख गरे । ताप्लेजुङका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथीभरामा केबलकारको निर्माण परियोजना सुर गरेको स्मरण गराउदै अध्यक्ष ढकालले उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लाबासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको बताए ।
काम सुरु भए लगत्तै जिल्ला भन्दा बाहिरबाट गएर अवरोधको प्रयास भएको र यस्तो प्रवृतिले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।
पूर्वाधार निर्माण जस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसार भरि पुग्दा त्यसले विश्वका लगानीकर्ताहरुमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको पनि अध्यक्ष ढकालले बताए । बदलिँदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन गरेर स्वदेशी उद्यमी, रोजगारी र राजश्व सृजना गर्ने कर्मशिलहरुलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावनाहरुलाई उपयोग गर्दै समृद्धि तर्फको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वान समेत गरे ।