प्रेस चौतारीको १० औं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । प्रेस चौतारी नेपालले आज (बिहीबार) एक कार्यक्रमबीच संगठनको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले संगठनको केन्द्रीय कार्यालयमा लोगो सार्वजनिक गरेका हुन् ।
प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा हुँदैछ । चैत १० देखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा हुने महाधिवेशनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । यस पटकको अधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ रहेको छ।
लोगोमा नेपालको गौरव र गरिमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेटिएको छ । त्यस्तै इलामको श्रीअन्तुको सूर्योदयको दृश्य, नेपालको सबैभन्दा होचो भाग झापाको केचनाकवल, कोशी टप्पु वन्यजन्तु आरक्ष, भोजपुर, खोटाङ र सोलुखुम्बुको बिचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, (ताप्लेजुङ), मकालु (सङ्खुवासभा) भेडेटार–हिले (धनकुटा), धरान, विराटनगर लगायतका क्षेत्रलाई पनि लोगोमा समेटिएको छ ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे), चिया बगान लगायतलाई लोगोमा समेटिएको छ । लोगो सार्वजनिक गर्दै संगठनका अध्यक्ष गणेश बस्नेतले लोगोमा कोशी प्रदेशको पहिचानलाई समेट्ने प्रयत्न गरिएको जानकारी दिए । ‘हाम्रो यात्रा उज्यालोतर्फ छ, अब उज्यालोको यात्रा लिएर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षाा लिएर अघि बढ्नु पर्छ भनेर हामीले त्यही अनुसारको लोगो बनाएका छौँ’, उनले भने ।
अबको यात्रा आत्मनिर्भर अर्थतन्त्र निर्माणको हुनु पर्छ भन्ने कुरामा प्रेस चौतारी नेपाल स्पष्ट रहेको बताए । लोगो सार्वजनिक कार्यक्रममा संगठनका महासचिव हीरामान लामाले प्रेस चौतारीको लोगो परिवर्तनको सन्देश दिने भएको बताए । उनले प्रेस चौतारी नेपालले श्रमजीवि पत्रकारको आन्दोलनलाई उचाइमा पुर्याउने लोगो तयार गरेको जानकारी गराए ।