दोस्रो वीरगञ्ज गोल्डकप सुरु : आयोजक वीरगञ्ज युनाइटेडको विजयी सुरुवात


२०८१ फाल्गुण १७ शनिबार २०:१६ बजे

पर्सा । दोस्रो वीरगञ्ज गोल्डकप २०८१ को उद्घाटन खेलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबले विजयी सुरुआत गरेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको उद्घाटन खेलमा आयोजक युनाइटेड वीरगञ्जले पहुना टोली गरवाल डाइमन्ड फुटबल क्लब दिल्लीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनको यात्रा तय गरेको हो । 

खेलको दोस्रो हाफको सुरुआती चरणमा डाइमन्ड फुटबल क्लबका खेलाडी सन्दीप रानाले बल ‘क्लियर’ गर्ने  क्रममा सो बल आत्मघाती गोल हुँदै वीरगञ्ज युनाइटेड विजयी भएको हो । खेलको पहिलो हाफमा वीरगञ्ज युनाइटेडले ‘पेनाल्टी सुट आउट’ को अवसर पाएको थियो तर कप्तान शिषस थापाले त्यो अवसरलाई गोलमा परिणत गन सकेनन् ।  

आइतबार खेल भने संकटा फुटबल क्लब र सहलेश फुटबल क्लब सिरहाबीच हुँदैछ । यसअघि  गोल्डकपको उद्घाटन गर्दै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुने बताए । ‘यस प्रतियोगिताले फुटबलको सीप, कला सिक्ने र खेलमै आफ्नो करियर बनाउनका लागि ठूलो सहयोग पुर्‍याउने विश्वास लिएको छु’, उनले भने, ‘प्रतियोगिताले खेलकुदको विकास मात्रै नभई समग्रमा यहाँको अर्थतन्त्र, पर्यटन र सामाजिक जीवनमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।’ 

क्लबका महासचिव पंकज श्रेष्ठले वीरगञ्जमा फुटबल खेलको संस्कृति प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताले ओझेलमा परेका खेलाडीलाई नयाँ ‘प्लेटफर्म’ प्रदान गर्ने बताए । आजदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमन्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौँ, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब सहभागी छन् । 

प्रतियोगिताको विजेता टोलीलाई  नगद रु ११ लाख ११ हजार १११ र उपविजेता  हुने टोलीलाई रु पाँच लाख ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै,  प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीले नगद रु १० हजार प्राप्त गर्नेछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७