अर्जेन्टिना फुटबल संघविरुद्ध फिफाको मुद्दा
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले विश्वकप फाइनल र सेमिफाइनलका क्रममा भएका विभिन्न घटनालाई लिएर अर्जेन्टिना फुटबल संघ (एएफए)विरुद्ध अनुशासनात्मक मुद्दा दर्ता गरेको छ।
फिफाले बुधबार सार्वजनिक गरेको अनुशासनात्मक मुद्दाको सूचीअनुसार विश्वकप फाइनलपछि स्पेनका खेलाडीमाथि कुटपिट गरेको आरोप, सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि फ्याकल्यान्ड (माल्भिनास) टापुसम्बन्धी राजनीतिक ब्यानर प्रदर्शन, समर्थकहरूले लगाएको भनिएको भेदभावपूर्ण नारा तथा दर्शकहरूले मैदानतर्फ सामग्री प्रहार गरेको घटनालाई आधार बनाएर कारबाही प्रक्रिया अघि बढाइएको हो।
फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि भएको झडपमा अर्जेन्टिनाका मिडफिल्डर लिआन्द्रो बारेदेसमाथि कुटपिटसम्बन्धी तीन आरोप, डिफेन्डर नहुएल मोलिनामाथि दुई आरोप तथा सहायक प्रशिक्षक रोबर्टो आयालामाथि एउटा आरोप लगाइएको छ।
यस्तै, नहुएल मोलिना र थियागो अल्माडामाथि खेलभावनाविपरीत व्यवहार गरेको आरोप पनि लागेको छ। यही प्रकृतिको आरोप स्पेनका मिडफिल्डर गाभीमाथि पनि लगाइएको फिफाले जनाएको छ।
सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। अर्जेन्टिनाले फ्याकल्यान्ड टापुलाई ‘इस्लास माल्भिनास’ नामले सम्बोधन गर्दै आएको छ।
सन् १९८२ मा अर्जेन्टिनी सैन्य शासनले फ्याकल्यान्ड टापुमाथि आक्रमण गरेपछि १० सातासम्म युद्ध चलेको थियो, जसमा अन्ततः बेलायत विजयी भएको थियो। उक्त ब्यानर प्रदर्शनपछि बेलायती अधिकारीहरूले फिफासमक्ष घटनाको अनुसन्धान गर्न आग्रह गरेका थिए।
फिफाले खेलकुद प्रतियोगितालाई गैर–खेलकुद वा राजनीतिक सन्देश प्रवाहका लागि प्रयोग गरिएको आरोपमा पनि अनुसन्धान थालेको जनाएको छ। आरोप लागेका सबै पक्षलाई आफ्नो धारणा प्रस्तुत गर्ने अवसर दिइएको र अनुशासन समितिले आवश्यक प्रक्रिया पूरा गरी निर्णय सार्वजनिक गर्ने फिफाले जनाएको छ।
.gif)

.png)

