कम्युनिष्ट पार्टीहरू देउवालाई जतिबेला पनि प्रधानमन्त्री बनाउन तयार छन् : रिजाल

काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि एमाले र माओवादी केन्द्र लगायतका कम्युनिस्ट पार्टीहरू जतिबेला पनि तयार रहेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा संघीयता र समावेशीकरण : संरचना र अभ्यास’ अन्तरक्रिया कार्यक्रममा शनिबार आफ्ना धारणा राख्ने क्रममा नेता रिजालले कांग्रेसले कम्युनिस्ट पार्टीहरूलाई बोक्दै आएको पनि बताए ।
प्रधानमन्त्री बन्नका लागि देउवाले इच्छा राखेका छन् भन्ने थाहा पाएमा कम्युनिस्ट पार्टीका नेताहरूले त्यो पूरा गर्न तम्तयार रहेको रिजालको भनाइ थियो । ‘शेरबहादुर देउवाले प्रधानमन्त्री बन्छु भन्नु अघिल्लो दिन नै बनाउनका लागि कम्युनिस्ट पार्टीका नेताहरू तयार छन्,’ रिजालले भने ।
नेपालमा एक पार्टीले अर्को पार्टीलाई बोक्दै हिँडेको र त्यसमा कांग्रेस पनि संलग्न रहेको रिजालको भनाइ छ । कांग्रेसले विगतदेखि नै कम्युनिस्टहरूलाई बोक्दै हिँडेको उनले बताए । ‘हामी कांग्रेसले कम्युनिस्टहरूलाई बोकेरै हिँडेका छौं । विगतमा पनि बोकेका थियौं, अहिले पनि बोकिरहेकै छौं,’ रिजालले भने ।
त्यस्तै, नेपालमा संघीय व्यवस्था फरक रहेको पनि रिजालको भनाइ थियो । नेपाल एकात्मक शासनबाट संघीय शासनमा गएको हुनाले राजनीतिक दल, राज्यका निकायहरू पनि त्यसरी नै अगाडि बढ्नुपर्ने र कार्यान्वनयमा जानुपर्ने उनले बताए । संघीयता कार्यान्वयनका कानुन निर्माणका लागि सरकारले कानुन निर्माण गर्नुपर्ने पनि उनको भनाइ छ ।
अहिलेको कांग्रेस र एमालेको सरकारले संघीयता निर्माणका कानुन अगाडि बढाउनुपर्ने तर नेतृत्वको प्रतिबद्धता आवश्यक रहेको उनले बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संघीयताप्रतिको प्रतिबद्धता कति बलियो छ भन्ने प्रमाण आजसम्म संघीयता कार्यान्वनयको कानुन कसरी अगाडि बढेको छ भन्ने नै हो,’ उनले भने । स्थानीय तह संचालनका लागि कानुन निर्माण भएको तर प्रदेश सरकार संचालन ऐन नै नबनेकाले संघीयतामाथि नै प्रश्न उठिरहेको रिजालले बताए ।