हमासले बन्धक रिहाइ रोके युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । हमासले बन्धक रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । पूर्व सम्झौताअनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो ।
शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको समाचारमा उल्लेख छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानमा गोलाबारी जारी राखेको र विस्थापित प्यालेस्टिनीहरू आफ्नो घर फर्किन ढिलो भइरहेको आरोप लगाएको छ ।
हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषय इजरायलको तर्फबाट प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरू रिहा गर्ने क्रम चलिरहेको थियो ।
हमासले बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् । ट्रम्पले शनिबार दिउँसो १२ बजेसम्म सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका छन् । उनले हमासले बन्धक रिहाइ रोके युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् ।