कांग्रेस सांसदहरुको प्रस्ताव : स्थानीयभन्दा पहिले संसदको चुनाव गरौं
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग गरेका छन् । आज (शुक्रबार) संसद भवनस्थित ल्होत्से हलमा बसेको बसेको कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगामी संघको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको निर्वाचनभन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग गरेको बताए । उनले आज सांसदहरुले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिए। उनले बैठकमा सांसदहरुले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकास निर्माणका कुराहरु उठाएको जानकारी दिए ।
उनले भने, ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सक्नेगरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरुको क्रम लामो भएकाले आज पनि बैठक सकेनौं । सांसदहरुको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरु, पदाधिकारीहरु र नेताहरुले बोल्ने क्रम बाँकी छ । यो संसदको बैठक २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्नेगरी बैठकलाई स्थगन गरिएको छ ।’ बैठकमा पाथीभरा केबलकारको बारेमा पनि सम्बन्धित जिल्लाका सांसदहरुले आफ्ना धारणा राखेका बताए ।