अमेरिकी विमान दुर्घटना : प्रतिकूल मौसमले उद्धार कार्य स्थगित
काठमाडौं । अमेरिकामा बुधबार राति भएको अमेरिकन एयरलाइन्सको विमान दुर्घटनापछि उद्धार कार्यलाई स्थगित गरिएको छ । हेलिकप्टरसँग ठोक्किएपछि विमान पोटोमाक नदीमा खसेको थियो, उद्धार टोली नदीमा खोजी कार्यमा खटिएको थियो ।
सीबीएस न्यूजका अनुसार गोताखोरहरूले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै खोजी अभियानलाई रोक्ने निर्णय गरेका छन् । अमेरिकी कोस्ट गार्डले भने विमानको भग्नावशेष हटाउने कार्यलाई प्राथमिकता दिइरहेको जनाएको छ । त्यसपछि पुनः खोजी कार्य सुचारु गरिने समाचारमा उल्लेख छ ।
पानीको बहाव र मौसमको प्रतिकूल अवस्थाले गोताखोरहरूको कामलाई चुनौतीपूर्ण बनाएको छ । परिस्थिति अनुकूल भएपछि उद्धार कार्य पुनः शुरू गरिने बताइएको छ । अमेरिकामा बुधबार राति अमेरिकन एयरलाइन्सको विमान हावामा रहेको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । यद्यपि हालसम्म ४० जनाको मात्रै शव निकालिएको छ ।