०८४ पछाडि पार्टी महाधिवेशन गर्ने कांग्रेस नेताहरूको प्रस्ताव, वैठक स्थगित
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । माघ २४ गते बिहान बस्ने गरी बैठक स्थगित भएको हो । बैठकमा सदस्यहरूको बोल्ने क्रम नसकिएपछि बैठक २४ गते बिहान बस्नेगरी स्थगित भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।
उनले भने,’ आजको बैठकमा बोल्ने क्रम सकिएन । २४ गते संसद बैठक हुन्छ । त्यही दिन बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।’ उनका अनुसार बैठकमा सांसदहरूको बोल्ने क्रम सकिएको छ भने अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूको बाँकी छ । आजको बैठकमा सरकारले ल्याएका अध्यादेशलगायत विविध विषयमा छलफल भएको उनको भनाइ छ । कांग्रेसका केही नेताहरूले २०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
दलको संसदीय दलको कार्यालयमा डा.शशांक कोइराला, डा. नारायण खड्का लगायतले यस्तो प्रस्ताव गरेका हुन् । ‘डा. शशांक, डा. नारायण खड्काले पार्टीको महाधिवेशन पछि गर्दा हुन्छ । ०८४ पछाडि गर्दा पनि हुन्छ भनेर राख्नुभयो’, एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको बैठकमा स्थनीय चुनाव संघीय चुनाव भन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे संविधानमै लेख्नुपर्ने पनि कांग्रेस नेताहरूले जोड दिएका छन् ।