बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको उम्मेदवारी (सूचीसहित)


२०८१ माघ ११ शुक्रबार ०६:२५ बजे

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा पूर्व अध्यक्षसहित १२ जनाको उम्मेदवारी परेको छ । आज (शुक्रबार) सम्ममा बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंसहित १२ जनाले उम्मेदवारी दिएका हुन् ।

आवेदन दिने अन्तिम दिनसम्म अर्थात् शुक्रबारसम्म प्राधिकरण कार्यकारी निर्देशक कमलप्रसाद रेग्मी, स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष डा. दामोदर बसौला, कानून व्यवसायी शरद ओझा, डा. देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका छन् ।

सिफारिस समितिले १२ जनामध्ये पूर्व निर्धारित योग्यता पूरा गर्ने उम्मेदवारको लिखित, मौखिक र प्रस्तुतीकरणका आधारमा सर्वाधिक अंक प्राप्त गर्ने तीन जनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गर्नेछ । सिफारिस भएकाहरूबाट मन्त्रिपरिषद्ले एक जनालाई नियुक्ति गर्नेछ । प्राधिकरणको अध्यक्षका लागि गत २६ गते प्राधिकरणले १५ दिनको समय दिएर आवेदन आह्वान गरेको थियो । यसअघि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र विज्ञ सदस्य रहेको समिति बनाएको थियो । 

उक्त समितिमा विज्ञ सदस्यको रूपमा ज्योति ओझा नियुक्त भएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पदेन हुन् ।  गत पुस १९ गते तत्कालीन अध्यक्ष सूर्य सिलवालको पदावधि सकिएको थियो । अहिले सरकारले अर्थ मन्त्रालयका सहसचिव समेत रहेका प्राधिकरणका सञ्चालक समितिका सदस्य मदन दाहाललाई अर्को नियुक्ति नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी तोकेर पठाएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७