बढ्यो महँगी : १४ महिनायताकै उच्च
काठमाडौं । चालु आर्थिक वर्षको वर्षको शुरूदेखि नै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी निरन्तर बढिरहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा ४.१० प्रतिशत रहेको मूल्यवृद्धि पाँचौ महिनासम्म आइपुग्दा ६.०५ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षको वर्षको मंसिर महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ ।
मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको शुरूवाती महिनाहरूको तुलनामा मंसिरसम्म आइपुग्दा महँगी १.९५ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ । मंसिर महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.८९ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा मंसिरमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत, मधेश प्रदेशको ६.७७ प्रतिशत, बागमती प्रदेशको ५.८४ प्रतिशत, गण्डकी प्रदेशको४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको छ । तर, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ ।