सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ


००:२६ बजे

काठमाडौं । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले निषेधित क्षेत्र तोड्न लागेकाले नियन्त्रणमा लिइएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन् । नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सोमबार १२ बजेदेखि ४  बजेसम्म सिंहरदरबारको दक्षिणी ढोकामा धर्नामा बस्ने जानकारी गराएका थिए ।

‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर घाँटीमा झुण्ड्याएका उनी त्यसलाई ज्याकेटले छोपेर सिंहदरबार गेटसम्म पुगे । आज १२ बजेदेखि २ बजेसम्म एक्लै धर्ना बस्ने उनको योजना थियो । सिंहदरबार गेटमा पुगेर ज्याकेट फुकालेर उनले आफ्नो ब्यानर प्रदर्शन गरे । तर, त्यसको एक मिनेटभित्रै प्रहरीले पक्राउ गरेको नेपालले बताएका छन् । आफूलाई सिंहदवार वृत्तभित्र यत्तिकै राखिएको उनले जानकारी दिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने  र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन–झन मौन रहनेछ, इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२ः०० बजेदेखि ४ः०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७